हेटौंडा, बागमती प्रदेशका १३ हजार पशुलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ । प्रदेशको कृषि तथा पुशुन्धी विकास मन्त्रालयले सम्बन्धीत जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रहरु मार्फत् संचालन गरेको खोप अभियान अन्तर्गत १३ हजार ५१६ गाईभैसीहरुलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार गत विहीबारबाट संचालन गरिएको खोप अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका ९१ पालिकाहरुमा रहेका १३ हजार ५१६ गाई भैसी, पाढापाडी, बाच्छाबाच्छी, साँढे, रागा र गोरुहरुलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको हो ।
साताव्यापी खोप अभियानअन्तरगत बिहीबार ४ हजार ४६७, शुक्रबार ४ हजार ६९४ र शनिबार ४ हजार ३५५ पशुमा लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो ।
उनका अनुसार खोप अभियान अन्तर्गत सबैभन्दा बढी चितवनका पशुमा खोप लगाइएको छ । चितवनमा २ हजार ४८८ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ भने मकवानपुरमा २ हजार ४४, काभ्रेका १ हजार ५२२, सिन्धुलीका १ हजार १९८, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८, रामेछमपका ९८२, सिन्धुपाल्चोक ८५६, रसुवा ५८३, भक्तपुर ५५४, ललितपुरका १७ र दोलखाका ८३ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ ।
आगामी साउन ३२ गतेसम्म संचालन हुने खोप अभियानमा प्रदेशका ५० हजार पशुलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाउने कार्यक्रम रहेको सूचना अधिकारी अधिकारीले बताए ।






