हेटौंडा, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् ।
मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवाला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको उनले बताए । “सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन”, मन्त्री महर्जनले भने।
उनले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिए । उनले भने, “सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौँ ।”
मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जिवित गर्नुपर्ने बताए । “स्थानीयस्तरमा आर्थिक अप्ठेरो पर्दा गर्जो टारेको र घरेलु उद्योग गर्नसमेत सहकारीले सहयोग गरेकाले पनि सरकारले सहकारी आन्दोलन बिर्सनुहुँदैन”, उनले भने । उनले प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको बताए ।






