हेटौँडा, पालुङ बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा सेवा केन्द्रस्तरीय २६ औँ वार्षिक साधारणसभा हेटौंडामा भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष पुरुषोत्तम कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले सहकारीको मुख्य लगानी रहने गरी थाहा शितभण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार यस परियोजनामा थाहा नगरभित्रका अन्तर सहकारी सम्बन्धको विकास र लगानीको सुरक्षाको सुनिश्चितता समेत सबल हुनेछ । छ हजार आठ सय ४० जना शेयर सदस्य र चार हजार ६५ जना लघुवित्त सदस्य रहेको सहकारीको शेयर पूँजी ९ करोड ९५ लाख रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सहकारीको कूल बचत ८८ करोड ४४ लाख र ऋण लगानी एक अर्ब आठ करोड ५२ लाख रहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको खुद नाफा एक करोड ६३ लाख रहेको छ । आगामी आर्थिक वर्षमा मुनाफामा बृद्धि गरी चार करोड ८२ लाख पु¥याउने लक्ष्य रहेको अध्यक्ष विष्टले जानकारी दिए । कार्यक्रममा हेटौंडा उपमहानगर पालिका १ नं. वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, सहकारीको हेटौंडा सेवा केन्द्रका संयोजक सरोजकुमार खनाललगायतले सहकारीले हालसम्म गरेको कार्य सन्तोषजनक रहेको र सहकारीक्षेत्रमा देखिएको चुनौतीलाई सामना गर्न थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
वि.सं. २०५६ साल पौष ९ गते थाहा नगरको थाना बजारमा स्थापना भएको सहकारीको सेवा केन्द्रहरु बज्रबाराही र हेटौंडा उपमहानगरपालिकामा विस्तारित छ । त्यसैगरी, चित्लाङमा पनि सेवा केन्द्र बिस्तारको लागि छलफल भइरहेको र निकट भविष्यमा काठमाडौंमा समेत सेवा केन्द्र बिस्तार गर्ने अध्यक्ष विष्टले बताए । थाहा नगरपालिका वडा नम्वर ४ मा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले यही पौष ९ गते स्थापना दिवसका दिन विविध कार्यक्रमसहित साधारणसभा आयोजना गर्न लागेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए ।






