हेटौंडा, सानिमा बैंक हेटौंडा शाखाले हेटौंडाका दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले हेटौडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विवश दहाल र भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत मनिसा कोइरलालाई छात्रवृत्ति प्रदान गरेको हो ।
हेटौडा उपमहानगरपालिकामा स्थायी बसोबास भएका गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई उच्च माध्यमिक शिक्षा तह ११ र १२ अध्ययनका लागि शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक दुई हजार नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरेको हो । यस छात्रवृत्ति अन्तर्गत सानिमा बैंकले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि हटौडा शाखाबाट प्रति विद्यार्थी नगद वृत्ति सहित नगद ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने हटौडा शाखाका शाखा प्रवन्धक श्री रोशन मल्लले जानकारी दिए ।
गत आर्थिक वर्षमा यसै शाखाबाट छात्रवृत्ति पाउने २ जना विद्यार्थीहरु हाल कक्षा १२ मा अध्ययन गरिरहेका छन् । यस वर्ष छात्रवृत्ति प्राप्त गर्नका लागि सार्वजनिक गरीएको सूचनालाई आधारमानी विद्यार्थीहरुले दिनु भएको निबेदनको आधारमा स्थानीय बिज्ञ व्यक्तिहरु प्रतिक सुवेदी, दामोदर अधिकारी, विवेक शर्मा अर्याल र अर्जुनप्रसाद उप्रेती सहितको निर्णायक समितीले अन्तरवार्ता र अन्य विवरणहरु अध्ययन पश्चात छनोट भएका दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नको लागी सिफारीस गरेको थियो ।
सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई महसुश गर्दै, विशेषगरि शिक्षा, रोजगारी र स्वास्थ्य क्षेत्रमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष लाभ हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।






