हेटौंडा, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले हेटौंडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेकी छिन् । खडकाले वन समूहको क्षेत्रभित्र डावर नेपालको सहयोगमा भैरहेको विभिन्न गैरकाष्ठ वनपैदावारको स्थलगत अवलोकन गरेकी हुन् ।

अवलोकन पश्चात मन्त्री खड्काले समूहले आयआर्जनको क्षेत्रमा गरेका कार्यको प्रशंसा गरेकी छिन् । उनले अन्य वन समूहले पनि यस्ता कामहरु गर्नुपर्ने सुझाव दिइन् । वन समूहले गरेका उत्पादनमुलक कार्यले स्थानीय क्षेत्रमै रोजगारी सिर्जना गर्नुको साथै आयआर्जन समेत हुने उल्लेख गर्दै यस्ता कार्यमा मन्त्रालयले समेत सहयोग गर्ने प्रतिबद्धता जनाइन् । मन्त्री खडकाले मेहनत गरे आफ्नै ठाउँमा रोजगारी पाउन सकिने भएकाले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने सुझाव दिइन् ।
मन्त्री खड्कासँगै अवलोकन कार्यमा डिभिजन वन कार्यालय ललितपुरका वन अकिधृत रामकुमार भण्डारी, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतम, सव–डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ, डावर नेपालका एशोसियट्स मेनेजर विष्णु केसी, समूहका अध्यक्ष सूर्यबहादुर घलान, सचिव रजनी गौतम, लेखा संयोजक भानुप्रताप बिडारी, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको सहभागिता रहेको थियो ।
समूहले डावर नेपालसँगको सहकार्यमा वनक्षेत्रमा कुरिलो, जामुन, टटेलो, खमारी, छतिवन लगायतका करिव ५ लाख विरुवा रोपेको छ । समूहले करिव ७० हजारको कुरिलो विक्री समेत गरिसकेको जानकारी दिइएको छ ।






