‘शैक्षिक हबको रुपमा विकास गर्नुपर्छ’

हेटौंडा/शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमले मकवानपुरलाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताएका छन् । मंगलबार नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय सभाको समापन कार्यक्रममा बोल्दै गौतमले शिक्षालाई विशेष प्राथमिकतामा राखी मकवानपुरलाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

ADVERTISEMENT

‘शैक्षिक विकासको लागि इकाइले ‘इनोेभेटिभ’ को काम गर्दैछ ।’ गौतमले भने –‘शैक्षिक गुणस्तर वृद्धिको लागि संस्थागत तथा सामूदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नको निम्ति भेलाको आयोजना गर्दैछौँ ।’ ‘अहिलेको युगले प्रविधिमैत्री शिक्षालाई जोड दिनुपर्छ । विद्यालयले शिक्षण सिकाई सँगै अतिरिक्त सिकाईलाई पनि जोड दिनुपर्छ’–उनले भने । विद्यार्थीलाई क्रियाकलापमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको नमूना सभाको आयोजना गरिएको नवोदय शिशु सदन माविका शैक्षिक निर्देशक अव्यक्त खनालले बताए । नवोदय विद्यालयले ‘इनोभेसन, एक्सपिरियन्स लर्निङ र क्रियटिभ एक्टिभिटी’ का ३ वटा बुँदालाई मुख्य प्राथमिकतामा राखी क्रियाकलापहरु सञ्चालन गरिरहेको उनले बताए ।

यसैगरी मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदिपराज गिरीले तीन दिन सम्म सञ्चालन भएको नमूना संयुक्त राष्ट्रसंघीय सभाले विद्यार्थीको क्षमतामा वृद्धि भएको बताए । यस्ता कार्यक्रम नवोदय विद्यालयले मात्र नभई अरु विद्यालयले पनि आयोजना गर्नुपर्ने उनको भनाइ रहेको थियो । यसैगरी मकवानपुरका सञ्चारकर्मी सुरेश श्रेष्ठले नमूना संयुक्त राष्ट्रसंघ कार्यक्रमले विद्यार्थी सीप दक्षतामा विकास भएको बताए। विद्यालयले आयोजना गरेको तेस्रो संस्करण नमूना संयुक्त राष्ट्रसंघीय सभामा भएका गल्तिलाई सच्याउँदै आगामी वर्षमा थप प्रभावकारी ढंगबाट नमूना सभाको आयोजना गर्न उनले विद्यालयसमक्ष आग्रह गरे ।

नमूना महासभामा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, आर्थिक र वित्तीय मामिला परिषद्, खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय पर्यावरणलगायत प्रमुख एजेन्डामा रही विद्यार्थीहरुले छलफल गरेका थिए । नमूना महासभामा सहभागी भई आफूले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रसंघमा मुलुकको प्रतिनिधित्वका विषयमा बुझ्ने अवसर पाएको मकवानपुर बालविद्या सदनका छात्रा जेनिशा आले मगरले बताइन् । यूनिटीले मात्र कामको सफलता मिल्ने, कमिटी सेसनबाट धेरै कुरा सिक्न पाएको कार्यक्रममा सहभागि विद्यार्थीहरुले बताए ।

विभिन्न देशको रुपमा भूमिका निर्वाह गर्ने, संयुक्त राष्ट्रसंघका विभिन्न समितिमा रही कार्य गर्ने र सभामा राम्रो भूमिका निर्वाह गर्ने विद्यार्थीलाई मायाको चिनोप्रदान गर्नुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । तीनदिनसम्म सञ्चालन भएको दोस्रो दिन सोमबार सभामा सहभागी हुन फरक फरक विद्यालयबाट आएका विद्यार्थीबीच हार्दिकता अभिवृद्धि गर्न तथा कला प्रस्तुत गर्न सामाजिक सन्ध्याको आयोजना गरिएको थियो । नमूना संयुक्त राष्ट्रसंघीय सभाका महासचिव रेजा विष्टले विद्यार्थीलाई जिम्मेवारी दिई कार्यक्रम आयोजना गर्न दिनुभएकोमा विद्यालयप्रति हार्दिक आभार व्यक्त गरिन् ।

Advertisement 5

नमूना संयुक्त राष्ट्रसंघीय सभाका महासचिव रेजा विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन शर्मालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नवोदय विद्यालयका विद्यार्थीसहित हेटौंडा एकेडेमी विद्यालय, तुलसी मेहर विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, मकवानपुर बाल विद्या सदन, ब्रहमदिक एकेडेमीका विद्याथीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *