हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको दुवै बाटो बन्द

हेटौंडा, हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द भएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका लागि बाटो बन्द गरिएको हो । दुवै सडकको मकवानपुर र काठमाडौंको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बन्द गरिएको सम्बन्धित स्थानीय तहहरूले जानकारी दिएका छन् ।

ADVERTISEMENT

कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सोमबारबाट यातायातका साधन चल्न रोकिएको छ । यो सडकखण्ड स्तरोन्नतिको क्रममा आगामी चैत मसान्तसम्म बन्द हुने भएको छ । कुलेखानी–फाखेल–फर्पिङ सडकको स्तरोन्नतिको काम बागमती प्रदेश सरकार मातहतको चितवन र ललितपुरका पूर्वाधार विकास कार्यालय मार्फत भइरहेको हो । पूर्वाधार विकास कार्यालय चितवनमार्फत मकवानपुरतर्फ कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ सडकखण्डको र पूर्वाधार विकास कार्यालय ललितपुर मार्फत हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको काम भइरहेको भन्दै निर्माण कार्यलाई प्रभावकारी बनाउन सोमबारबाट आगामी फागुन १५ गतेसम्म दुई महिनाका लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । पालिकाले सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

उता काठमाडौँको दक्षिणकाली नगरपालिकाले काठमाडौँतर्फ हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डमा कालोपत्रे गर्ने तयारीमा रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले कालोपत्रे गर्ने कामको तयारीका क्रममा बेस र सबबेस बिछाउने कार्य भएको हुँदा कालोपत्रे गर्ने कार्य गर्न सवारीसाधनको चापले निर्माण कार्य गर्न समस्या भएको भन्दै उक्त सडकखण्डमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गमा डाइभर्सन गराउन वा आवागमन रोक लगाउन भनेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *