हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडास्थित पदमपोखरीमा अस्पतालको उद्घाटन भएको छ । चिकित्सकको सुविधासहित गाउँमै उपचार सेवा प्रदान गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले पालिका स्तरको अस्पतालको सुरुवात गरेको हो । हेटौंडा १३ र १६ मा अस्पताको सुविधासहित स्थानीयलाई स्वास्थ्य सेवा दिने क्रममा शुक्रबार हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाले अस्पतालको उद्घाटन गरेकी हुन् ।

पालिकाले सञ्चालन गरेको ५ बेडको अस्पतालले पुष १७ गतेबाट चिकित्सक सहित सुविधा दिँदै आएको थियो । अस्पतालले आकस्मिक सेवा सहित अन्य सामान्य उपचार सेवा दिँदै आएको छ । अस्पतालको उद्घाटन गर्दै मेयर लामाले जनतालाई स्थानीय स्तरबाटै स्वास्थ्य उपचार दिन अस्पताल सञ्चालनमा ल्याएको बताइन् । स्वास्थ्य चौकीबाट दिँदै आएको सुविधालाई केही विकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाई थियो । चिकित्सक सहितको सुविधा दिने उद्देश्यले पालिकाले नगरको दुई ठाउँमा अस्पताल सञ्चालन गरेको मेयर लामाले बताइन् ।
अस्पतालको उद्घाटनसँगै पदमपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा २६६ महिला र १७१ जना पुरुष गरी ४३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिए । शिविरमा सेवा लिन आएका मध्ये ३५० जनालाई आँखाको, १०८ जनालाई ल्याव र २३ जनालाई मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान गरिएको उनले बताए । हेटौंडा उपमहानगरपालिका १३ नम्बरका वडा अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिना लगायतको आतिथ्यता थियो ।






