हेटौंडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ अन्तर्गत शिक्षा संकायमा निशूल्क पठनपाठनको कार्यक्रमलाई निरन्तरता दिने भएको छ । क्याम्पसले सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले ३० जना विद्यार्थीलाई शतप्रतिशत निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने जनाएको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पसका प्रिन्सिपल पुरनबहादुर जोशीले नेपाली, अंग्रेजी र गणित विषयमा १०/१० जना गरी कुल ३० जना विद्यार्थी छनोट गरिने जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिएका विद्यार्थीहरूको अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अघि बढाइनेछ ।
गत वर्षबाट म्यानेजमेन्टले नवोदय शिशु सदन, नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा नेपाली, गणित र अंग्रेजी मूल विषय अध्ययन गर्ने १०/१० जना गरी कुल ३० जनालाई निशूल्क पठनपाठनको अवसर मिलाएको थियो । कार्यक्रममा शिक्षाशास्त्र संकाय संयोजक रमिता दर्लामीले शिक्षा संकायको पठनपाठनलाई थप प्रभावकारी, व्यावहारिक र गुणस्तरीय बनाउँदै लगिएको बताउनुभयो ।
प्रशिक्षार्थी विद्यार्थीहरूलाई हप्तामा दुई दिन विशेषज्ञ शिक्षकमार्फत विशेष मार्गदर्शन कक्षा सञ्चालन गरिनेछ । ती दिन निःशुल्क खानाको व्यवस्था गरिनुका साथै उपस्थिती र सक्रिय सहभागिताका आधारमा मासिक एक हजार रुपैयाँसम्म प्याकेज खर्च उपलब्ध गराइने जनाएको छ । शिक्षा संकायसँगै विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, ब्यूटीसियन तथा हेयर डिजाइनिङ संकायमा समेत भर्ना खुला गरिएको जानकारी दिइएको छ ।








