रंगशाला प्रवद्र्धन गर्न गौरिटारमा गोल्डकप

सुजन ढकाल

हेटौंडा ६ गौरिटारस्थित निर्माणाधीन रंगशालालाई प्रवद्र्धनका साथै निर्माण कार्य छिटो सम्पन्न गराउन राज्यका निकायलाई दवाव सृजना गर्ने उद्देश्यका साथ छैठौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिता यसै स्थानमा आयोजना हुँदैछ ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो गोल्डकप हेटौंडा १० स्थित फरेष्ट्रीको खेल मैदानमा भएको थियो भने चौथो र पाचाँै हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको थियो । प्रदेश सरकारको रंगशालालाई प्रवद्र्धन गर्न र निर्माणाधीन रंगशालाको अवस्थाको बारेमा आम सर्वसाधाधरणलाई जानकारी गराउन यस वर्ष रंगशालामा प्रतियोगिता आयोजना गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए । यस वर्ष मकवानपुरको न्यू डाँफे युथ क्लवले प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी लिएको छ ।

निर्माणाधीन अवस्थामा रहेको रंगशालामा प्रतियोगिता आयोजना गर्नु चुनौतीको विषय रहेको डाँफे युथ क्लवका अध्यक्ष आलोक स्याङतानले बताए । राष्ट्रिय खेलकुद परिषदले २ अर्ब ५० करोडको लगानीमा ५ वर्षभित्रै बनाउने लक्ष्यका साथ सुरु गरेको रंगशालाको आयोजना संघीय सरकार र राखेपको प्राथमिकतामा नपर्दा १४ वर्षसम्म पनि निर्माण कार्य पूरा हुन सकेको छैन । प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले निर्माणाधीन रंगशालामा हुन लागेको गोल्डकपले सरोकारवाला निकायको ध्यानाकर्षण हुने विश्वास लिए ।

प्रत्येक वर्ष प्रदेश सरकारले वार्षिक रुपमा बजेट वृद्धि गर्दै अहिले रंगशाला निर्माणको कामले गति लिएको उनको दावी छ । प्रदेश सरकारले रंगशाला निर्माणका लागि छुट्याएको ६ करोड रुपैयाँबाट चौर निर्माण भइसकेको छ । रिटेलिङ वाल, भिआइपी प्याराफिट निर्माण लगायतको काम १३ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले वि.सं. २०६६ साल जेठ २८ गते प्रतिष्ठानको शिलान्यास गरेका थिए । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश मातहतमा खर्च हुने गरी यसवर्ष स्विमिङ पुल बनाउन ३ करोड र क्रिकेट मैदान बनाउन ४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही माघ १६ देखि २७ गतेसम्म स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिता सञ्चालन हुँदैछ । गोल्डकपमा पारो एफसी भुटान, ए डिभिजन क्लवहरु चर्चब्वाइज युनाइटेड, संकटा क्लव, हिमालयन शेर्पा क्लव, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लव, मच्छिन्द्र क्लव, मनाङ मस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, बागमती युवा क्लव सर्लाही, राजारानी क्लव धनकुटा र एन्फा मकवानपुरको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि एक करोड ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *