हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा शुक्रबारबाट हेटौंडामा १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका पूर्व मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

शुक्रबार भएको ४० देखि ४५ केजी तौल समूहमा बालज्योति डोजाङका शिशिर राई, इन्द्रसरोवरका रुवृत्त श्रेष्ठ, हटियाका निरोज माझी विजयी भए । यसैगरी ५४ देखि ५८ केजी तौल समूहमा कर्राका पूजा माझी, इन्द्रसरोवरकी यूनिसा गोले, नामटारकी अस्मिता मोक्तान र जनज्योतिका विविका थापा विजयी भएका छन् । पुरुष र महिला खेलाडीले विभिन्न विधागत ११ वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
हेटौंडाको पारिजातपथ स्थित कबर्ड हलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर जिल्लाका २२ वटा डोजाङका ३१५ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश हुने भएकोले जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको बज्राचार्यले बताए । दुई वटा रिङमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल प्रदान गरिने छ ।
‘जिल्लास्तरीय प्रतियोगिता आयोजना हुँदा हरेक बालकालिकाले खेलको अनुभव बटुल्ने गर्दछन् । यस खेलबाट आमन्त्रित प्रतियोगिता र राष्ट्रिय खेलको प्रतियोगिताको लागि खेलाडी छनौटमा सहयोग पुग्नेछ’, उनले भने, ‘प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्याम्पमा राख्नेछाँै ।’ प्रतियोगिताको लागि करिब २ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा हेटौंडा ५ का वडाध्यक्ष सुशिल घिमिरे, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइरालालगायतको आतिथ्यता रहेको थियो । आयोजकले खेलाडीको लागि निःशुल्क खाना र बासको पनि व्यवस्था गरेको छ ।






