हेटौंडा, बागमती प्रदेश सरकारले दिँदै आएको दुधको अनुदान कटौती गरिएको भन्दै बागमती प्रदेशका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन् । किसानले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा कालो ब्यानर, धर्नासहित सोमबार तालाबन्दी गरेका थिए । दुग्ध उत्पादक किसानलाई स्थानीय तहले नै अनुदान दिँदै आएको भन्दै दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसान आन्दोलित भएका हुन् ।

प्रदेश सरकारले गत वर्ष ३० करोड विनियोजन गरि किसानलाई प्रति लिटर ३ रुपैयाँ ५६ पैसा वितरण गरेकोमा यस वर्ष घटाएर जम्मा ५ करोड मात्र छुट्याएको थियो । धर्ना तथा तालाबन्दी कार्यक्रम उपस्थित किसानहरूले दुधको भुक्तानी समयमा नपाएको भन्दै भुक्तानी नियमित हुने वातावरण बनाई दिन समेत माग गरेका थिए । कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसान मारमा परेको भन्दै आन्दोलन थालिएको हो । उनीहरुले मिल्क होलिडे अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको आरोप लगाउँदै आएका छन् ।
प्रदेश सरकारले पनि अनुदान रोक्ने र स्थानीय तहले पनि अनुदानको व्यवस्था नगरेका कारण आफूहरु मर्कामा परेको आन्दोलित किसानको गुनासो छ । बागमती प्रदेश कृषि तथा पशुपंछी निर्देशनालय हेटौंडामा लगाइएको ताला खोलिएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचीव राजेन्द्र कोइराला र निर्देशनलायका निर्देशक डाक्टर गौरीमान श्रेष्ठ तथा संघका प्रतिनिधिहरुबिच दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरी निर्देशनालयमा लगाएको ताला खोलिएको छ ।
उत्पादनमा आधारित प्रति लिटर अनुदानका लागि २०८० पौष १९ गते प्रकाशित सुचना बदर गर्ने, सो शिर्षकमा थप बजेटको ब्यवस्था गरि माघ २३ गतेसम्म अर्को सुचना प्रकाशन गर्ने भनिएपछि सहमति अनुसार निर्देशनालयमा लगाएको ताला खोलिएको सहमति पत्रमा उल्लेख गरेको छ ।
धर्ना कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा , उपाध्यक्ष भागिरथ तिमल्सिना, संचालक सदस्य बिदुर हुमागाई, चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगाले, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, निवर्तमान अध्यक्ष बासुदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।







