हेटौंडा, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडाको गौरीटार रंगशालामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ र न्यूरोड टीम (एनआरटी) भिड्ने भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बिहीबार भएको खेलमा एपिएफले बागमती युवा क्लव सर्लाहीलाई हराउँदै एनआरटीसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
एनआरटी पहिलो सेमिफाइनलबाट धनकुटाको राजारानी युवा क्लवलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । बिहीबारको खेलमा एपिएफले बागमतीमाथि ४–० फराकिलो जीत निकालेको हो । ४४ औं मिनेटमा अनिष महर्जनको गोलमार्फत एपिएफले अग्रता लिएको हो । बागमतीका गोलरक्षक रविन बस्नेतबाट रिबाउण्ड आएको बललाई उनले हेडमार्फत पोष्टको दिशा दिएका हुन् । ६० औं मिनेटमा एपिएफले प्रदीप लामाको गोलमार्फत अग्रता दोब्बर बनायो । ८१ औं मिनेटमा एपिएफका सर्ज संगले अर्को गोल थपे । फोडे फोफोनाले निकालेको बललाई उनले गोल गरेका हुन् । ९० मिनेटमा एपिएफका लागि फोडे फोफोनाले अन्तिम गोल गरे । बागमतीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्दै खेलबाट बाहिरिएको छ । २२ औं मिनेटमा बागमतीका सिर्जन गौतमको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
३३ औं मिनेटमा बागमतीका अभी लामाले गोल गर्ने सुन्दर मौका खेर फाले । सिर्जन गौतमको वान भर्सेस वान प्रहारलाई गोलरक्षक एन्जल श्रेष्ठले पन्च गरेपछि प्राप्त बललाई उनले पोष्टको दिशा दिन सकेनन् । पहिलो हाफमा एक गोललले पछि परेको बागमतीले दोस्रो हाफको सुरुवातीमा केही राम्रा मुभ बनाएपनि गोल गर्ने सकेन । ४८ औं मिनेटमा बागमतीका राज भुषालको प्रहारलाई एपिएफका गोलरक्षक श्रेष्ठले बचाए ।
लगत्तै बायाँ भागबाट आएको बललाई एपिएफका डिफेण्डरलाई बिट गर्दै सिर्जन गौतमले गरेको प्रहार आकाशियो । खेलको म्यान अफ द म्याच एपिएफका पहिलो गोलकर्ता अनिष महर्जन घोषित भए । उनले नगद दश हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्टले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।






