क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सिद्धार्थ, भुटनदेवी र हेटौंडा एकेडेमी प्रवेश

हेटौंडा, मकवानपुर क्रिकेट संघको आयोजनामा हेटौंडाको हुप्राचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालय स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सिद्धार्थ शिशु सदन, भुटनदेवी माध्यमिक विद्यालय र हेटौंडा एकेडेमी प्रवेश गर्न सफल भएको छ ।

ADVERTISEMENT

शुक्रबार हुने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र सोलिड्यारिटी इन्टरनेशलबीचको खेलबाट सेमिफाइनल संस्करण पूरा हुने प्रतियोगिता संयोजक संजोग पोखरेलले जानकारी दिए । विहीबार भएको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कमाने एकेडेमी विद्यालयलाई ९० रनले पराजित गर्दै भुटनदेवी माध्यमिक विद्यालय विजयी भएको हो । शुरुमा टस जितेर ब्याटिङ रोजेको भुटनदेवीले १५ ओभरमा ७ विकेको नोक्सानीमा १६२ रन बनायो । भुटनदेवीको लागि सजिद अलि खानले ३६ रन, कृष्ण यादव ३४ रन र नरेन्द्र अधिकारीले ३२ रन बनाए ।

कमानेका लागि श्रीजन थापाले ४ विकेट, उत्सव सापकोटा र बिप्सन चौलागाईले समान १ विकेट लिए । जवाफी ब्याटिङको लागि मैदान उत्रेको कमाने एकेडेमी १५ ओभरमा ६ विकेटको नोक्सानीमा ७३ रन बनायो । कमानेका जोयल गुरुङ १५ रन, मन्जिल अधिकारी १२ रन, उत्सव सापकोटाले १३ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कमानेलाई सस्तैमा समेट्नको लागि भुटनदेवीका नरेन्द्र अधिकारीले २ विकेट, रितिक यादव र ओेम प्रकाश रामले समान १ विकेट लिन सफल भए । प्रतियोगितामा भुटनदेवीका सजिल अलि खान म्यान अफ घोषित भए ।

ADVERTISEMENT

विहीबार भएको दोस्रो खेलमा तुल्सी मेहर मेमोरियल विद्यालयलाई ६ रनले पराजित गर्दै हेटौंडा एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ । शुरूमा टस जितेर ब्याटिङ रोजेको हेटौंडा एकेडेमीले १५ ओभरमा ६ विकेटको नोक्सानीमा १२२ रन बनायो । एकेडेमीको लािग चन्दन गिरीले ३५ रन, एमडी असनले २१ रन, राजाबाबु पटेलले १८ रन बनाए । तुल्सी मेहरका निराजन यादवले २ विकेट, जोय किसन कुशवाह र बिशाल शाहले समान १ विकेट लिए । जवाफी ब्याटिङको लागि मैदान उत्रेको तुल्सी मेहर १५ ओभरमा ५ विकेटको नोक्सानीमा ११६ रन मात्रै बनाउन सक्यो । तुल्सी मेहरका लागि सुमित यादवले ५५ रन, लक्की त्रिपाठीले १५ रन र बिशाल शाहले १६ रन बनाए ।

एकेडेमीका आदित्य यादव, एमडी असन र इशान्त भण्डारीले समान १ विकेट हात पारे । प्रतियोगितामा हेटौंडा एकेडेमीका सुमित शाह म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *