हेटौंडा, थाहा नगरपालिका स्थित बज्रवाराही माध्यमिक विद्यालयका विद्यार्थीहरुले अन्नहरुको प्रयोग गरी नेपालको कलात्मक नक्सा बनाएका छन् । कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुले दाल, मकै, भटमासलगायतका गेडागुडीहरु प्रयोग गरेर नक्सा बनाएका हुन् । उनीहरुले बनाएको नक्सा बुधवार आयोजित विद्यालयको ७० औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेलामा आकर्षणको केन्द्रबिन्दु बनेको थियो । कार्यक्रममा पुगेका अतिथि, अभिभावक र स्थानीयहरुले विद्यार्थीहरुले बनाएको नक्साको प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मकवानपुर २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्ताैलाले पनि विद्यार्थीहरुको सिर्जनात्मक क्षमता थप विकासका लागि हौसला प्रदान गरे । कार्यक्रमलाई सम्वोधन गर्दै बर्ताैलाले शिक्षा ऐन २०२८ नवौं संशोधन २०७४ ले शिक्षा क्षेत्रको सबै कुरा समेट्न नसकेको बताउदै नयाँ शिक्षा ऐनले शिक्षाको समस्यालाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना बलामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य सुवर्ण गोपाली, नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सुरेन्द्र थापा मगर, विद्यालयका पूर्वअध्यक्ष महेश्वर सुवेदी, विद्यालयका प्रधानाध्यापक रमेशमान डङ्गोल, वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, वडा न ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार मेडल तथा प्रमाणमत्र वितरण गरेको थियो । कार्यक्रममा विद्यालयलाई विविध समयमा सहयोग गर्ने संघ संस्थाहरुलाई पनि प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरीएको थियो । हाल ४३४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।







