हेटौंडा, हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आइतबार विद्यालय प्रिन्सिपलसहित तीनजना व्यक्तिलाई सम्मान गरेको छ । हेटौंडा एकेडेमीको रजत जयन्तको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको आइतबार समापन कार्यक्रममा विद्यालयका प्रिन्सिपल गौरीदेवी चिमरीया, संस्थापक अध्यक्ष डोरमणि पौडेल र साहित्यकार स्वर्गीय तुल्सी थापालाई सम्मान गरेको हो ।
विद्यालयले मरोणापरान्त सम्मान साहित्यकार थापाको परिवारलाई प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका संरक्षक अजयराज सुमार्गी, वरिष्ठ कलाकार हरिवंश आचार्य र संस्थापक अध्यक्ष डोरमणि पौडेलले अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा आ-आफ्नो धारणा राखेका थिए । हेटौंडा एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेको हेटौंडा एकेडेमी दर्पण स्मारिका विमोचन भएको थियो । कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा, विद्यार्थीद्वारा निर्माण गरिएका हस्तकला , विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी गर्नुको साथै विद्यार्थीले खाना महोत्सव पनि सञ्चालन गरेका थिए ।
कार्यक्रममा हेटौंडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । हेटौंडा उपमहानगरपालिका १ नम्वर वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा ११ का वडाध्यक्ष जुना दहाल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, बिन्दबासिनी मिडिया प्रालिकी अध्यक्ष अस्मिता सुमार्गी, विद्यालय व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गी, डाक्टर सिताराम खनाल, रामनारायण बिडारीलगायतको आतिथ्यता रहेको थियो ।







