अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताः हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी

हेटौंडा, हेटौंडा जेसीजको आयोजनामा शनिबारबाट हेटौंडामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस विजयी भएको छ । हेटौंडा सिटी कलेजलाई ७ विकेटले पराजित गर्दै हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी भएको हो । शनिबार हेटौंडाको हुप्राचौरमा भएको प्रतियोगितामा टस जितेर म्यानेजमेन्टले फिल्डिङ रोजेको थियो ।

टस हारेर ब्याटिङ गरेको हेटौंडा सिटी कलेज २० ओभरमा आल आउट हुँदै ११३ रन जोड्न सफल भयो । हेटौंडा सिटिका सुमित पाठकले ३६ रन, समिर सापकोटाले २३ रन र सुमन श्रेष्ठले २० रन जोड्न सफल भए । म्यानेजमेन्टका राजा अहमदले ३ विकेट, गौरभ श्रेष्ठ र प्रन्तल उपाध्यायले समान २ विकेट, कृष्ण यादव र गुड्डु यादवले समान १ विकेट लिए । जवाफ ब्याटिङको लागि मैदान उत्रेको म्यानेजमेन्ट १५ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । म्यानेजमेन्टका युविन बुढाथोकीले नटआउट हुँदै ६२ रन जोडे भने विशेष थापाले ३३ रन जोड्न सफल भए । हेटौंडा सिटीका उत्सव न्यौपाने र सुमित पाठकले समान १ विकेट हात पारे ।

प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका युविन बुढाथोकी म्यान अफ द म्याच घोषित भए । हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता फागुन २९ गतेसम्म हुने जनाइएको छ । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गी, मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीलगायतको आतिथ्यता रहेको थियो । ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि जनही पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button