७ प्रदेशका १७८५ खेलाडी सहभागी हुने
हेटौंडा, बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही चैत २५ गतेबाट हुन लागेको प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । बागमती प्रदेश बोर्ड सदस्य धनकुमार (अभिलाष) मैनालीका अनुसार प्रतियोगिताको उद्घाटन बेलुका ४ बजे हुनेछ ।
प्रतियोगिताको उद्घाटनमा सातवटै प्रदेशका मुख्यमन्त्री, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानलगायतको उपस्थिती रहनेछ । विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडीले सहभागिता जनाउँदै छन् भने प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७३० जनाले प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । ‘प्रथम अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सबै प्रदेशको तयारी पूरा भएको भन्ने जानकारी प्राप्त भएको छ’, उनले भने, ‘सबै प्रदेशसँग सम्पर्क र समन्वय गरी सातवटै प्रदेशले प्रतियोगितामा सहभागिता जनाउने छन् ।’ प्रतियोगितामा बक्सिङ, कराते, तेक्वान्दो, भलिबल, फुट्बल, ब्याड्मिन्टन, क्रिकेट, पौडी र एथलेटिक्स गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
सातै प्रदेशका खेलाडीहरूबीच प्रतिस्पर्धाबाट विभिन्न प्रदेशका खेलाडीहरूको पहिचान गर्न, खेलाडीहरूको खेल कौशलताको अभिवृद्धि गर्न र प्रदेशका खेलाडीहरूबीच भातृत्व कायम गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन लगायत सम्पूर्ण खेल चितवनमा र पुरुष फुटबल तथा समापन कार्यक्रम मकवानपुरमा हुने बागमती प्रदेश खेलकुद विकास परिषद् कार्यालयले जनाएको छ ।
प्रतियोगिताको समापन हेटौंडा–६ स्थित गौरीटार रंशालामा हुनेछ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता टिमले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्का प्रतियोगिता तथा तालिम शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिए । उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा प्रदेश सरकारले ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।






