हेटौँडा, हेटौंडामा भएको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालयले जितेको छ । शनिबार भएको फाइनल खेलमा शारदा माविले भानु माध्यमिक विद्यालयलाई २–१ को सेटले हराउँदै उपाधि चुमेको हो ।
पहिलो सेट २५–११ ले जितको शारदा मावि दोस्रो सेटमा १९–२५ ले भानु माविसँग पराजित भयो । तर, तेस्रो सेटमा कम ब्याक हुँदै शारदा माविले भानु माविलाई १५–५ ले पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेता शारदा माविले २५ हजार रुपैयाँ र उपविजेता भानु माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट सेटर शारदा माविकै रामचन्द्र छत्कुली र उत्कृष्ट स्पाइकर भानु माविका सुमन थिङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै शारदा माविका आशिष घलानले ३ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । शनिबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा शारदा माविले जीएस निकेतनलाई २५–२०, २५–२० को सोझो सेटले पराजित गर्दै शारदा फाइनल प्रवेश गरेको थियो ।
यसैगरी हेटौंडा क्याम्पसलाई २५–२०, २५–१२ को सेटले पाखा लगाउँदै भानु फाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा पराजित हुने जीएस निकेतन र हेटौंडा क्याम्पसले प्रोत्साहनस्वरुप ५–५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । हेटौंडा ४ नम्बर वडा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सह–व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देललगायतको आतिथ्यता रहेको थियो ।







