हेटौंडा/बडा दशैँलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले मकवानपुरबाट ६ सय वटा खसीबोका खरिद गर्ने भएको छ । शाखाले मकवानपुरबाट १ हजार वटा बोका खरिद गर्न लागेको भएपनि अहिले ६ सय वटा खसीबोकाको मात्र कोटा आएको शाखा प्रमुख विकास कटुवालले जानकारी दिए ।

वीरगञ्ज केन्द्रबाट ६ सय वटा खसीबोका खरिदको कोटा आएको जानकारी दिँदै उनले बारा पर्सामा पर्याप्त खसीबोका नपाइने भएकाले मकवानपुरबाट खरिद गर्न लागेको बताए । खसीबोका खरिदका लागि कार्यालयको कर्मचारी टोली अर्को साता मकवानपुर आउने जानकारी दिइएको छ ।१८ किलो माथिको वजनको बोका प्रतिकिलो ५ सय २० रुपैयाँमा शाखाले खरिद गर्ने भएको छ ।
त्यसैगरी २० देखि २५ किलोको खसी प्रतिकिलो ५ सय ७५ रुपैयाँ र २५ किलो माथिको खसी प्रतिकिलो ५ सय ९९ रुपैयाँमा खरिद गर्न लागिएको उनले बताए । मकवानपुरमा खरिद गरिएको खसीबोका संघीय राजधानी काठमाडौं लगिने उनले बताए । त्यस्तै शाखाले असोज १ देखि कात्तिक १५ सम्म सहुलियत छुट मूल्य पसल समेत सञ्चालन गर्ने भएको छ ।







