हेटौँडा, यही बैशाख २८, २९ र ३० गते हेटौंडामा हुने प्रदेश युवा सम्मेलनको तयारी तीव्र पारिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको प्रदेश युवा सम्मेलन दोस्रो हो ।
हेटौंडामा हुने तीन दिने कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका युवाको सहभागिता रहने प्रदेश युवा परिषद बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुनेछ ।

‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धनः बागमतीमा युवा सशक्तीकरण” भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा युवाहरुको ज्ञान, सीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेका हौँ ।’ कार्यकारी उपाध्यक्ष चौलागाईले भने –‘तीनदिनसम्म सञ्चालन हुने युवा सम्मेलनमा शिक्षा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरता: प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीपः देशमा लगानीको सम्भावना र मुख्यमन्त्रीसँग कुरालगायतका विषयवस्तु छलफल गरिने छ । छलफलबाट निस्कर्ष निकाल्दै आगामी दिनमा युवाकोबिचमा आगामी दिनमा रचनात्मक विषयवस्तु सञ्चालन गर्ने छौँ । ’ युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ ।
‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागाईले बताए । सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टिकाराम यात्री र विश्वनाथ कोइराला लगायताको सहभागिता रहने आयोजकले जनाएको छ ।
तीन दिनसम्म चल्ने कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । कार्यक्रमका लागि २७ गते सहभागीहरू हेटौँडा आइपुग्ने आयोजकले जनाएको छ ।







