हेटौंडा, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् ।

हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव सोमबार उद्घाटन गर्दै उनले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाए ।
देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उनको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले भने,’ हामी सुशासनको अभियान अगाडि बढाउँदै समृद्धिको बाटोमा निरन्तर लागिरहेका छौँ ।’ राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्याङ्कन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएको उनले बताए ।
कार्यक्रममा रामचन्द्र खड्का स्मृति सृजनशील पत्रकारिता पुरस्कार थाहा नगरपालिकाका पत्रकार शम्भु अधिकारीलाई प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा मनिता दानीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमार लामा, उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपाल अनलाइनका अध्यक्ष सुनिल खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






