हेटौँडामा फाल्गुन ८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको आयोजनामा फाल्गुन ८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा फाल्गुन ८ देखि १० गतेसम्म नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागिएको हो।

ADVERTISEMENT

प्रतियोगिता संयोजक राजाराम पोखरेलका अनुसार प्रतियोगितामा ६ विधाका खेलहरू सञ्चालन गरिनेछ। हेटौँडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, उसु, कराँते, तेक्वान्दो र एथलेटिक्सका खेलहरू समावेश छन्।
गत वर्ष सम्पन्न १५औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले जितेको थियो। त्यसैगरी हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कुल उपविजेता बनेको थियो भने हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय तेस्रो स्थानमा परेको थियो।

गत वर्षको प्रतियोगितामा नगरभित्रका ३८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकूल समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी दिनमा जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *