हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई पत्रकारले आलोचना र खबरदारी गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा आइतबार हेटौँडामा कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार र सञ्चारमाध्यमले गलत कुरालाई गलत भन्नुपर्ने बताए । उनले मिडियाकर्मीहरुमा आलोचनात्मक चेतना हुनुपर्ने बताए।
सबै नीतिहरुको नेतृत्व राजनीतिले नै गर्ने बताउँदै समाजमा निराशाहरु पस्कने र सकारात्मक कुराहरुलाई छोप्ने तत्वविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । साथै उनले बागमती प्रदेश सरकारलाई सञ्चारकर्मीहरुकोे सहयोग पाइरहेको भन्दै सञ्चार क्षेत्रलाई सहयोग गर्ने दृढता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले कृष्ण सेन सञ्चार जगतका क्रान्तिकारी योद्धा र कम्युनिस्ट नेता भएको उल्लेख गर्दै मुलकमा गणतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रबाट सेन जस्ता सञ्चारकर्मीहरुको भूमिका उल्लेखनीय रहेको बताए । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सञ्चार माध्यमको विकासका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
कार्यक्रम प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको अध्यक्षतामा भएको हो । सोे क्रममा मकवानपुरका अग्रज र युवा तथा क्रियाशील सञ्चारकर्मीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा क्रमशः प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मा, मकवानपुरका युवा पत्रकार राजन दाहाल, एमपी शर्मा, सरला अधिकारी, प्रतीक्षा न्यौपाने र बालकृष्ण दाहाल रहेका छन् ।
कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।






