कृषि मन्त्री श्रेष्ठले सार्वजनिक गरे प्रगति विवरण

हेटौंडा, बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री डा। राजेन्द्रमान श्रेष्ठले आफ्नो १४ महिने कार्यकालको विस्तृत प्रगति विवरण सार्वजनिक गरेका छन् । २०८० जेठ ७ गतेदेखि हालसम्मको अवधिमा मन्त्रालयबाट भएका मुख्य उपलब्धि र आगामी योजनाबारे उनले सोमबार पत्रकार भेटमा विस्तृत जानकारी दिएका हुन् ।

ADVERTISEMENT

डा। श्रेष्ठले आफ्नो कार्यकालमा नीतिगत सुधार एवम् मन्त्रालयको कार्यसम्पादनमा वृद्धि र सुधार ल्याउने प्रयास गरेको बताए । उनका अनुसार प्रदेश कृषि विकाससम्बन्धि विधेयक, २०८० बारे प्रदेशसभाको विषयगत समितिमा छलफल भएको छ । उक्त ऐन निर्माण भए प्रदेश कृषि विकासमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपद्बाट प्रभावित किसानलाई हालसम्म २ करोड ३० लाख राहत रकम ५९ हजार ८३ रुपैयाँ कृषकको खातामा पठाइसकेको पनि उल्लेख गरे ।

यस्तै, उनले भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ११ लाख ४२ हजार ३ सय २७ भेडा बाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको बताए ।

मन्त्रालयअन्तर्गत् सबै ३६ कार्यालय अनुगमनरनिरीक्षण गरी आवश्यक सुझाव प्रदान गरिएको र सुशासन तथा कार्यसम्पादनमा सुधार गर्न निर्देशन दिइएको बताए । यस कदमले प्रदेशको कृषि प्रशासनमा पारदर्शिता र जवाफदेहिता बढाउने उनको विश्वास छ ।

Advertisement 5

उनले प्रदेशका ८ जिल्लाका १० स्थानमा शीतभण्डारको निर्माण ८६ प्रतिशत् सम्पन्न भएको भन्दै ती शीतभण्डारले करिब १५ हजार ८ सय मेट्रिकटन फलफुल तथा तरकारी भण्डारण गर्नसक्ने क्षमता राख्ने उल्लेख गरे । ‘यसले किसानलाई आफ्नो उत्पादन लामो समयसम्म सुरक्षित राख्न र बजार मूल्यअनुसार बेच्न मद्धत गर्नेछ,’ उनले भने ।

चालु आर्थिक वर्ष २०८१र०८२ का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कुल बजेट ३ अर्ब ३९ करोड ३४ लाख २० हजार प्रस्ताव गरिएको जानकारी दिँदै उनले यसबाट प्रदेशको कृषिक्षेत्रले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । उक्त बजेटमा समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम, प्रांगारिक मल कारखाना स्थापना, कृषिऋणमा सहुलियत व्याज अनुदान र पशुरोग नियन्त्रण खोप अभियान जस्ता महत्वपूर्ण कार्यक्रम समावेश छन् ।

डा। श्रेष्ठले आफ्नो कार्यकालमा चीनको चियाङ्सी प्रान्तसँग कृषि, शिक्षा र प्रविधि विकासको क्षेत्रमा सम्भावित सहकार्य र समन्वयका लागि पहल गरिएको पनि उल्लेख गरे । उक्त सहकार्यले प्रदेशको कृषिक्षेत्रमा नयाँ प्रविधि र ज्ञान भित्र्याउने उनको अपेक्षा छ ।

मन्त्री श्रेष्ठले आगामी दिनमा पनि प्रदेशको कृषिक्षेत्र विकासमा आफू निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ” १४ महिना छोटो कार्यकालमा हामीले धेरै महत्वपूर्ण काम गर्न सफल भयौं । यी कार्यक्रमहरुले प्रदेशको कृषिक्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछन् भन्ने विश्वास छ । हामीले थालेका कार्यक्रमलाई निरन्तरता दिइयो भने प्रदेश कृषिक्षेत्रमा आत्मनिर्भर र समृद्ध बन्नेछ ।”

केन्द्रदेखी प्रदेशसम्म सत्ता समीकरण परिवर्तनसँगै कामचलाउ मन्त्रीका रुपमा रहेका मन्त्री डा। श्रेष्ठले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो १४ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *