हेटौंडा, ०९ साउन/टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना भएको निशुल्क आँखा परीक्षण सिविरको दोस्रो दिन ७६ जनाको आँखा परीक्षण गरिएको छ ।
मंगलबारदेखि हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सुरु भएको आँखा परीक्षण सिविरमा बुधबार ७६ जनाको आँखा परीक्षण गरिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रवप्रसाद अधिकारीले बताए ।
बुधबार हेटौंडा–१९ स्थित नेवारपानी सहरी स्वास्थ्य केन्द्रमा सिविरको आयोजना गरिएको थियो । ५० वर्ष भन्दा माथि उमेर समूह र मधुमेहका बिरामी लक्षित सिविरमा बुधबार गरिएको परीक्षणमा १७ जना बिरामीको आँखामा समस्या देखिएको अध्यक्ष अधिकारीले बताए ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको आँखा परीक्षण सिविरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का सदस्य रमा गोले, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली, प्राविधिक मिनबहादुर रोकाया, टोल विकास वडा समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
साथैं ५० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुमा आँखा सम्बन्धी समस्या धेरै आउने तर अधिकांश व्यक्तिहरू परीक्षण गर्न नजाने कारणले यो कार्यक्रम निकै प्रभावकारि हुने र कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिने आयोजकले जनाएकोछ ।






