हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको विशेष नगरसभा आव्हान गर्न माग गरेको छ । हेटौंडा उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐनमा भएको करको दर बढाइएको विरोध जनाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विशेष नगरसभाको बैठक आव्हान गरेका छन् । बुधबार हेटौंडा उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै राजश्वको दर वृद्धिसम्बन्धी व्यवस्था संशोधन गर्न आवश्यक देखिएको भन्दै नेकपा एमाले सम्वद्ध सदस्यले विशेष नगरसभा आव्हान गर्न माग गरेका हुन् ।
कार्यपालिका सदस्य तथा हेटौंडा ४ नम्बर वडाका वडाध्यक्ष नविन सिग्देलले नगरसभाबाट कर बृद्धि गर्ने निर्णय भएको भए पनि त्यसलाई संसोधन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले जनताको अभिमतद्वारा निर्वाचित जनप्रतिनिधिहरुको निर्णयले जनतालाई नै मारमा पार्ने अवस्था सृजना हुनु दुखद भएको बताए ।
करवृद्धि संशोधन आवश्यक देखिएकोले नेपालको संविधानको धारा २२२ देखि २२७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३, बागमती प्रदेश सरकारले बनाएको गाउँ, नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ३ को उपदफा ३ र दफा २३ को (ग) , (घ), (ञ) र (ट) तथा हेटौँडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ बमोजिम विशेष नगरसभा बैठकको माग गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजश्वको दर उच्चतम् रुपमा वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित छन् ।






