हेटौंडा, यही भाद्र १३ गतेदेखि थाहा नगरपालिकामा हुने थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । १३ टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन खेलमा सुनिल र सन्तोषको टिमले रोशन र घनश्यामको टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।।
थाहा नगरपालिका वडा नम्वर ४ मा रहेको थाहा ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताका खेलहरु सञ्चालन हुने छन् । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जेसीजका अध्यक्ष रायमाझीले बताए ।
प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजना गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् । प्रतियोगिताका लागि फरक सोच र थाहानगर ब्याडमिन्टन सङ्घले समन्वय गर्ने छ । प्रतियोगिताको फाइनल खेल भाद्र १५ गते हुने आयोजकले जनाएको छ ।







