हेटौँडा, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक साढे तीन करोड लिटर पानी वितरण गरिरहेको छ । बोर्डले मङ्गलबार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८०/०८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको विषयमा जानकारी दिएको हो । बोर्डका अनुसार हेटौँडामा दैनिक तीन करोड ४० लाख लिटर पानीको माग रहेको छ ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार हाल हेटौँडाको मुख्य नगरक्षेत्रभित्र २४ सै घण्टा पानी वितरण भइरहेको छ । हेटौँडा उपमहानगरभित्रको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पूरै भूभाग, वडा नम्बर १, ३ र १७ को केही भूभाग र वडा नम्बर १५, १६, १८ र १९ को ७०।५ प्रतिशत भूभागमा बसोबास गर्ने एक लाख ६० हजार नगरवासीलाई तीन करोड ५७ लाख लिटर खानेपानी वितरण गरिरहेको बोर्डले जनाएको छ ।
नगरक्षेत्रको वडा नम्बर ११, १२ र १३ मा उपभोक्ता समितिबाट खानेपानीको सेवाप्रवाह हुँदै आएको बोर्डका अध्यक्ष विष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नगरक्षेत्रभित्र बसोबास गर्ने नगरवासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रूपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउनु हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको उद्देश्य रहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले समबेल, डिपबोरिङ र गाभिएका उपभोक्ता समितिबाट हेटौँडामा एक करोड लिटर खानेपानी थप भएको जानकारी दिए । सामरी समबेलबाट ६० लाख लिटर, मैदा टोलको समबेलबाट १५ लाख लिटर, लामसुरे डिपबोरिङबाट १२ लाख लिटर र उपभोक्ता समिति हस्तान्तरण भई थपिएको खानेपानी १४ लाख १७ हजार लिटर गरी एक करोड १ लाख १७ हजार लिटर खानेपानी थपिएको उनले जानकारी दिए ।
गत आर्थिक वर्षमै हेटौँडा–८ मैदाटोलमा सशस्त्र प्रहरी बलको कम्पाउन्डभित्र समबेल, मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरीपुल नजिकै प्रतिदिन ६० लाख लिटर पानी उत्पादन क्षमताको समबेल निर्माण, हेटौँडा–१६ हटियामा शक्तिखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत रहेको खानेपानीको स्रोत, पानी भण्डारण टङ्की सहित ५५७ वटा धारा बोर्डमा हस्तान्तरण भएको थियो । पानी परीक्षण प्रयोगशालाको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, बोर्ड अन्तर्गत रहेका खानेपानीका पूर्वाधारको सुधार र विस्तारको कार्य, खानेपानीका स्रोतको सुरक्षा एवम् संरक्षण कार्य, बोर्डको सेवा क्षेत्रभित्र २ स्थानमा डिप ट्यूवेल निर्माण, पानी पुनर्भरण ९रिचार्ज० पोखरी स्थानीय तह र सामुदायिक वनसँगको सहकार्यमा निर्माण कार्य गरिएको बोर्डको भनाइ छ ।
पत्रकार सम्मेलनमा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य इन्द्र नेपाल, बोर्ड सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कुमार गुप्ता, पत्रकार महासङ्घ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी लगायताको सहभागिता रहेको थियो ।






