मुख्यमन्त्री बानियाँद्वारा विपन्न दलित महिलालाई घर हस्तान्तरण

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू निर्वाचित क्षेत्रका विपन्न नागरिकका लागि घर निर्माण गरिदिने प्रतिबद्धता पूरा गरेका छन्। मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेकी एकल दलित महिला मिठुमाया सुनारलाई आइतबार एक कार्यक्रमका बीच मुख्यमन्त्री बानियाँले घर हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

गत साउनमा मुख्यमन्त्री नियुक्त भएपछि बानियाँले राज्यका सेवा–सुविधा नलिने र सोही रकम विपन्न नागरिकका घर निर्माणमा प्रयोग गर्ने घोषणा गरेका थिए। सरकारी लागत अनुमानअनुसार ७ लाख रुपैयाँ मूल्य रहेको शौचालयसहितको तीन कोठे घरमध्ये ४ लाख ६५ हजार रुपैयाँ मुख्यमन्त्री बानियाँले व्यक्तिगत रूपमा खर्च गरेका हुन्। ब्लकको पर्खाल र जस्ता छानोयुक्त उक्त घरमा काँग्रेसका स्थानीय नेता–कार्यकर्ताले पनि श्रमदान र नगद सहयोग गरेका थिए, संयोजनकर्ता नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले जानकारी दिए।

घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले मिठुमाया सुनारलाई आयआर्जनका लागि २० हजार रुपैयाँ नगद सहयोगसमेत प्रदान गरे। गरिबीकै कारण उनका श्रीमानले केही वर्षअघि आत्महत्या गरेपछि ६ सदस्यीय परिवार संकटमा परेको थियो। झुप्रोमा बस्दै आएकी मिठुमायाको सहायताका लागि मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले मुख्यमन्त्रीलाई सिफारिस गरेका थिए।

ADVERTISEMENT

मिठुमायाको घरसँगै मुख्यमन्त्री बानियाँले मकवानपुर–२ (ख) निर्वाचन क्षेत्रमा रहेका अन्य दुई विपन्न परिवारका लागि पनि व्यक्तिगत खर्चमै घर निर्माण गराइरहेका छन्। राक्सिराङ गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङको घर द्रुत गतिमा निर्माण भइरहेको र कात्तिक महिनाभित्र हस्तान्तरण गरिने बानियाँको सचिवालयले जनाएको छ। यस्तै कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङका लागि पनि घर निर्माण कार्य जारी छ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले मानवीय सेवाको भावनाले राजनीति गर्ने बताउँदै, गरिब र विपन्न नागरिकलाई आवास र आयआर्जनका माध्यमबाट सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले बागमती प्रदेशमा एक हजार घर निर्माणको लक्ष्य रहेको बताउँदै भने, “प्रत्येक घरमा पाँच लाख रुपैयाँको लगानी र आयआर्जनका लागि थप दुई लाख ५० हजार रुपैयाँ खर्च गर्दा एक हजार परिवारलाई आवास र आयमूलक स्रोत प्रदान गर्न सकिन्छ।”

घर हस्तान्तरण कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, वडा अध्यक्ष राजकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *