थाहानगरमा ब्याडमिन्टन प्रतियोगिता शुरु, विहीबार ४ खेल सम्पन्न

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आजबाट थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका मेयर विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

विहीबारबाट शुरु भएको प्रतियोगितामा चार वटा खेल सम्पन्न भएका छन् । आजभएको उद्घाटन खेलमा रोशन गोपाली र घनश्याम श्रेष्ठको टिमले विजयी शुरुवात गरेको छ । गोपाली र श्रेष्ठको टिमले सन्तोष कार्की र सुनिल विष्टको टिमलाई पराजित गर्न सफल भएको हो । यसैगरी आज भएको दोस्रो खेलमा नारायण विष्ट र हरि विष्टको टिमले सुशान्त श्रेष्ठ र अनिल विष्टको टिमलाई, नरेन्द्र मोक्तान र देव अर्यालको टिमले भुवन रायमाझी र कपिल केसीको टोलीलाई र ईसाक केसी र नरेन्द्र लामाको टोलीले सांगे लामा र कुमार रायमाझीको टोलीलाई पराजित गर्न सफल भएका छन् ।

१३ टिमले सहभागिता जनाएको प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उद्घाटन खेलमा थाहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, थाहा नगरपालिकाका प्रशासकिय अधिकृत कृष्ण गिरीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजना गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् । प्रतियोगिताका लागि फरक सोच र थाहानगर ब्याडमिन्टन सङ्घले समन्वय गर्ने छ । प्रतियोगिताको फाइनल खेल भाद्र १५ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *