हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान्स क्लब झापा फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नव जनजागृति भेट्रान्स सिमरालाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली भेट्रान्स फाइनल प्रवेश गरेको हो ।
पूर्वेलीको लागि ४७ औँ मिनेटमा रमेश गुरुङले गोल गर्न सफल भए । प्रतियोगितामा निर्णायक गोल गर्न सफल भएका झापाका खेलाडी रमेश गुरुङ म्यान अफ द म्याच घोषित भए । भाद्र ३१ गते बिहान ८ बजे फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौं र हरिवन भेट्रान्स सर्लाहीबीच सेमिफाइनलको खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल असोज १ गते हुनेछ । प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्टलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना एवम् रोट¥याक्ट क्लव अफ मकवानपुरको समन्वयमा तेस्रो संस्करणको भेट्रान्स फुटबलको आयोजना भईरहेको हो ।







