मकवानपुरका ४४ मध्ये ४ जनाले अझै खोलेनन् बैंक खाता

हेटौँडा, यही फागुन २१ गते बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ४४ जनामध्ये ४० जनाले बैंक खाता खोलेका छन् । मकवानपुरको २ वटा निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित ४४ जनाले उम्मेदवारी दिएका मध्ये ४ जनाले खाता खोल्न बाँकी रहेको हो ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले ४४ जना उम्मेदवार मध्ये श्रम संस्कृति पार्टीका उम्मेदवार र एकजना स्वतन्त्र उम्मेदवारले सिफारिस नै लिन बाँकी रहेको बताए । सबै उम्मेदवारलाई टेलिफोन गरेर खाता खोल्न आग्रह गरेपनि ४० जनाले मात्रै खाता खोलेको उनले बताए । बाँकीलाई पनि खाता खोल्न भनेकोे जानकारी दिँदै उनले कतिपय उम्मेदवारले केन्द्रबाटै खर्च हुने भनेको र केहीले खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको बताए ।

मकवानपुरको क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुमध्ये क्षेत्र नम्बर २ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार युनेश लामा सिन्तान र स्वतन्त्र उम्मेदवार सीतामाया बलले सिफारिस लिन बाँकी रहँदा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार सुशीला सुवेदी र राकेशकुमार शर्माले बैंक खाता खोल्न काँकी रहेको ढकालले बताए । निर्वाचन आयोगले राजनीतिक दल एवम् उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैङ्किङ खाता खोल्नुपर्ने प्रावधान ल्याएपनि केही उम्मेदवारले अटेर गरेको पाइएको छ ।

Advertisement 3

क्षेत्र नम्बर १ का १३ जना दलीय र १० जना स्वतन्त्र तथा क्षेत्र नम्बर २ का १६ जना दलीय र ५ जना स्वतन्त्र उम्मेदवार रहेकोमा हालसम्म १४ जना उम्मेदवारले मात्र आफ्नो घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार कार्यालयमा अहिले सम्म दल र स्वतन्त्र गरी १४ जनाले मात्रै घोषणापत्र प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *