हेटौंडा, वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो सय दिनको उपलब्धि बुधबार सार्वजनिक गरेका छन् ।
हेटौंडामा आफ्नो नेतृत्वमा सरकारको गठन भएदेखि हालसम्मको निर्णय तथा उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले यसअवधिमा आफूले सरकारको जग बसाल्ने काम गरेको दाबी गरे ।
‘यसअवधिमा सरकारले फाउण्डेसन निर्माणको काम गरेको छ । अब नतीजामुखी काम देखिन्छ ।’, उनले कुनै पनि सरकार गठन भएको सय दिनमै उथलपुथल हुने गरी काम गर्न नसक्ने बताए । ‘विपद्को समयमा सरकारले धेरै काम गरेको छ । केन्द्रीय सरकारसँग नीति बाझिँदा केही समस्या भने पक्कै भएको छ,’ उनले भने ।
मुख्यमन्त्री लामाले अघिल्लो सरकारले ल्याएको बजेटका कारण आफ्नो भिजनअनुसार काम गर्न नसकिएको बताए । ‘बजेट एउटा सरकारले ल्यायो । अहिले कार्यान्वयन हामीले गर्नुपर्ने अवस्था छ । त्यसकारण जनभावनाअनुसार काम गर्न नसकिएको हो,’ उनले भने ।
मुख्यमन्त्री लामो प्रदेश सरकार नीतिगत सुधारको काम गरिरहेको दाबी गरे । ‘आवश्यक कानुन निर्माणका लागि सबै मन्त्रालयले गृहकार्य गरिरहनु भएको छ,’ उनले भने ।