हेटौंडा, १४ असोज/जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानले सबै क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्ने बताएका छन् । शुक्रबार जिल्ला दुग्ध उत्पादक सहकारी संघको २९ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनमा बोल्दै घलानले राज्यले लिएको तीन खम्बे अर्थनीति अनुरुप सहकारीसँगै, कृषिलगायत अन्य क्षेत्रलाई समेटी सहकार्य गर्ने बताए ।
‘राज्यले सहकारीलाई नियमन गरेको छ । विचौलियालाई निरुत्साहित गर्न राज्य अगाडी बढिरहेको छ ।’ उनले भने –‘किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले पाइरहेका छैन । दुध किसानलाई सरकारले अनुदान दिइरहेको छ ।’ केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले संघमा व्यक्ति हावी नभई संघलाई चलायमान बनाउनुका साथै व्यवस्थापनको लागि नयाँ नेतृत्व आउनुपर्नेमा जोड दिएका थिए ।
नीति, नियम र कार्यान्वयनको पक्षमा संघ जान सक्यो या सकेन भन्ने विषयमा समिक्षा गर्ने बेला आएको उनले बताए । भीमफेदी १ मा रहेको दुग्ध प्रशोधन उद्योग परिसरमा भएको सभामा सहकारीले गरेका कार्यहरु र समिक्षात्मक विषयवस्तुहरु समेटिएर संघका अध्यक्ष बासुदेव अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आव २०७९/८० मा गरिने कार्यक्रमहरु र योजनाहरु प्रस्तुत गरेका थिए । संघमा ४० वटा सहकारी संस्था आवद्ध रहेको संघमा ७० हजार लिटर दुध भण्डारण क्षमता रहेको छ । संघले आव २०७८/०७९ मा एक करोड ३८ लाख ४४ हजार ३५२ लिटर दुध खरिद गरीएको संघका व्यवस्थापक कुमारमणि दाहालले बताए ।
एक करोड १३ लाख शेयरपुजीँ रहेको संघमा एक करोड २३ लाख ८४ हजार १५४ रुपैयाँ जगेडा कोष रहेको दाहालले बताए । संघले सबैभन्दा बढीमा दूध लिटराम उद्योगतर्फ विक्रि गर्ने मनकामना दुग्ध उत्पादक सहकारी संस्था, चेतनशील दुग्ध उत्पादक
सहकारी संस्था, नारायणी दुग्ध उत्पादक सहकारी संस्था, उज्जवल दुग्ध उत्पादक सहकारी संस्थालाई पुरस्कृत गरेको छ । यसैगरी उच्च गुणस्तरमा दुध विक्री गर्नेतर्फ सुपिङ दुग्ध उत्पादक, फापरबारी दुग्ध उत्पादक सहकारी संस्था, रत्नदेवी दुग्ध उत्पादक सहकारी संस्था र अङ्गारेश्वर दुग्ध उत्पादक सहकारी संस्थालाई पुरस्कृत गरेको छ । यसैगरी चौकिटोल काउन्टरमा सबैभन्दा बढी दूध विक्री गर्नेमा बाराही दुग्ध उत्पादक सहकारी संस्था र क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्थालाई पनि संघले पुरस्कृत गरेको थियो ।
बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, मकवानपुरगढीका पुर्व अध्यक्ष विदुर हुमागाई, मकवानपुरगढी ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शमालगायतकाको आतिथ्यता रहेको थियो ।