हेटौंडा, जेसीआई हेटौंडाको आयोजनामा शनिबार हेटौँडामा ‘फाउन्डर्स फोरम २०२६’ शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा उद्यमी कोबित सिंह बानियाँ, सन्तोष कडेँल तथा सुमन पौडेलले आफ्ना उद्यमशील यात्रा, चुनौती, अवसर र सफलताका अनुभव सहभागीहरूसँग साझा गरेका थिए। वक्ताहरूले नवप्रवर्तन, जोखिम व्यवस्थापन, नेतृत्व क्षमता विकास, वित्तीय अनुशासन तथा व्यवसाय विस्तारका विभिन्न पक्षबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए। उनीहरूले उद्यमशीलतामा निरन्तर सिकाइ, लगनशीलता र सही निर्णय क्षमताको महत्वमा जोड दिएका थिए।
जेसीआई हेटौंडाका अध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट प्रमुख अतिथि रहेका थिए। शुभकामना मन्तव्य व्यक्त गर्दै संघका उपाध्यक्ष काव्यमणि अधिकारीले युवाहरूलाई अवसरको खोजी मात्र नभई अवसर सिर्जना गर्ने क्षमताको विकास गर्न आग्रह गरे। उनले उद्यमशीलता, नेतृत्व र सकारात्मक सोचले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले युवालाई सही दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी युवा, विद्यार्थी तथा नवउद्यमीहरूले अन्तरक्रियात्मक सत्रमार्फत व्यवसाय सञ्चालनका व्यावहारिक पक्षबारे जानकारी हासिल गरेका थिए। वक्ताहरूका प्रस्तुति र अनुभवले सहभागीहरूलाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ प्रेरित गरेको आयोजकले जनाएको छ।
उद्यमशीलता, ज्ञान आदानप्रदान तथा नेटवर्किङलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘फाउन्डर्स फोरम २०२६’ हेटौंडाका युवा तथा व्यवसायिक समुदायका लागि प्रेरणादायी, उपयोगी र प्रभावकारी कार्यक्रमका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रायोजक संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा सिए रोशन सापकोटा, राजदेव बानियाँ, माधव ज्ञवालीलगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको संयोजक सरजल बज्राचार्यले गरेका थिए ।






