हेटौंडा, प्रा.डा. चूडामणि बन्धुलाई लोकनाथ न्यौपाने स्मृति बालवाङ्मय सम्मान प्रदान गरिएको छ । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा भएको दोस्रो राष्ट्रिय नवसर्जक उत्सव कार्यक्रममा बालसाहित्य समाजका संस्थापक अध्यक्ष रहेका बन्धुलाई अग्रज स्रष्टाको रुपमा लोकनाथ न्यौपाने स्मृति बालवाङ्मय सम्मान प्रदान गरिएको हो ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले बन्धुलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो । नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार विष्णुप्रसाद न्यौपानेले आफ्ना पिताको स्मृतिमा उक्त पुरस्कार स्थापित गरेका हुन् । दोस्रो राष्ट्रिय नवसर्जक उत्सव कार्यक्रम अन्तर्गत शनिबार दोस्रो दिन अग्रज स्रष्टा र नवसर्जक प्रतिभालाई सम्मान गरेको छ ।
कार्यक्रममा ७ प्रदेशका ७ जना नवसर्जकलाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित प्रादेशिक नवप्रतिभा सम्मान प्रदान गरिएको छ । जसमा प्रभा पौडेलले स्थापना गर्नुभएको योग–हरि पौडेल स्मृति नवसर्जक प्रतिभा सम्मान कोशी प्रदेशका चिन्तामणि ९मणि० निरौलालाई, रमेशमोहन अधिकारीले स्थापना गर्नुभएको शिव–सावित्री अधिकारी स्मृति नवसर्जक सम्मान मधेश प्रदेशका सरोजप्रसाद साहलाई, गोकर्ण सुवेदी र जयन्ती आचार्यले स्थापना गर्नुभएको टीका–ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान बागमी प्रदेशका केशव घिमिरेलाई, सविता पाण्डे र डीबी बर्तौलाले स्थापना गर्नुभएको गुरुबहादुर–विष्णुमाया पाण्डे स्मृति नवसर्जक प्रतिभा सम्मान गण्डकी प्रदेशका रोशन तिमल्सिनालाई प्रदान गरिएको छ ।
यसैगरी रमेशमोहन अधिकारीले स्थापना गर्नुभएको शकुन्तला ढुङ्गेल स्मृति नवसर्जक प्रतिभा सम्मान लुम्बिनी प्रदेशका निशा पाण्डेलाई, अर्चना दाहालले स्थापना गर्नुभएको कृष्णहरि लामिछाने स्मृति नवसर्जक प्रतिभा सम्मान कर्णालीका शिवराज शाहीलाई र रुबिना शर्माले स्थापना गर्नुभएको दिनेश शर्मा स्मृति नवसर्जक प्रतिभा सम्मान सुदूरपश्चिम प्रदेशका सुनिल बुढा ‘कछुवा’ लाई प्रदान गरिएको छ । नवसर्जक साहित्य चौतारी नेपालका संस्थापक तथा संरक्षक दीपक गौतमले सम्मानित स्रष्टाहरूको योगदान र प्रकाशित गर्नुभएको कृतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रसन्ना चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेशका प्रथम मुख्यमन्त्री पौडेलले मकवानपुर जिल्लालाई साहित्यको उर्वर भूमिको रुपमा चिनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नवप्रतिभा प्रवर्धनमा विद्यालय र स्थानीय सरकारको भूमिका विषयमा बहस भएको थियो ।
हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, शैक्षिक सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी र पत्रकार सुरेश श्रेष्ठले बहसकर्ताको भूमिका निर्वाह गरेका थिए । बहसको सहजकर्ता नवसर्जक साहित्य नेपालकी उपाध्यक्ष कृतिका लौडारीले गरेकी थिइन् भने अभिभावकत्व हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नवीन सिग्देल रहेका थिए । नवसर्जक साहित्य चौतारी नेपालले गरेको गतिविधिलाई समावेश गरी नवर्सिजना स्मारिका पनि बिमोचन गरिएको थियो ।आज नवसर्जक साहित्य चौतारी नेपालको प्रथम केन्द्रीय अधिवेशनबाट नयाँ कार्यसमिति पनि चयन हुने छ । हेटौंडामा सञ्चालन भएको दुई दिने राष्ट्रिय नवसर्जक उत्सव कार्यक्रमको पहिलो दिन सिर्जनात्मक लेखन कार्यशाला सञ्चालन भएको थियो ।






