हेटौंडा, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा विहीबार भएको तेस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका चिराग डंगोल प्रथम भएका छन् । हेटौंडाका १७ वटा विद्यालयका २८ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका आरमन कार्की दोस्रो, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयकी ब्रष्मा गहतराज तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई त्रमशः नगद क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी नवोदय विद्यालयकी सम्वृद्धि आचार्यलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो । संगीतकार एवं संगीत प्रशिक्षक चण्डी प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा उज्जवल शर्मा भण्डारी, सुदिप क्षेत्री र बाबु क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा विद्यालयका सञ्चालक श्यामकुमार बानियाँको ‘तिमी धेरै माया गर्छौँ’ गीतको म्यूजिक भिडियो र ‘म्यासेजको घण्टी’ गीत लोकार्पण गरिएको छ ।
यसैगरी कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा विद्यालयको परिसरमा खाना महोत्सव भएको छ । हाम्रो स्थानीय विषय अन्तर्गत स्थानीय खाना र परिकारको पहिचान गराउने उद्देश्यले खाना महोत्सव कार्यक्रम आयोजना गरिएको सञ्चालक बानियाँले जानकारी दिए ।
ज्ञानोदय बालबाटिका आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप्ती महतको अध्यक्षतामा भएको कार्यक्रममा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालका केशव लाल श्रेष्ठ, संगीतकार राम आश्रय, ओमप्रसाद राई, गायिका पेमा शेर्पा राई, प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव सुदिपराज गिरीलगायतको आतिथ्यता रहेको थियो ।






