हेटौँडा, हेटौँडा उपमहानगरपालिका १ नम्वर वडा कार्यालयको आयोजनामा आर्थिक कठिनाइका कारण नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने स्थानीय बासिन्दालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमअन्तर्गत नकैली शहरी स्वास्थ्य केन्द्र (जरुवाटोल) परिसरमा शिविर आयोजना गरेको हो। शिविरमा आँखा, दाँत, महिलाको पाठेघर (VIA परीक्षण) तथा ओपिडी सेवा प्रदान गरिएको थियो। कार्यक्रममा कुल २४२ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। आँखा परीक्षणतर्फ २१६ जनाले सेवा लिएका थिए। जसमध्ये ३ जनामा मोतिबिन्दु देखिएको र शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको जनाइएको छ। ४८ जनालाई नजिकको पावरको चस्मा वितरण गरिएको छ भने आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको वडा सदस्य इश्वरी रसाइलीले जानकारी दिनुभयो।
दाँतसम्बन्धी सेवा १० जनाले लिएका छन्। महिलाहरूको पाठेघर परीक्षण ५९ जनाले गराएका थिए, जसमध्ये ३ जनाको रिपोर्ट शंकास्पद (पोजेटिभ) देखिएको छ। २३ जनाको पाठेघरमा औषधि राखिएको, ४९ जनामा सामान्य संक्रमण देखिएकाले निःशुल्क औषधि वितरण गरिएको तथा १ जनामा पाठेघर खस्ने समस्या देखिएकाले रिङ राखिएको रसाइलीले बताउनुभयो। यसैगरी, ओपिडी सेवा १०९ जनाले लिएका छन् भने १३७ जनाले सुगर (रक्तचिनी) परीक्षण गराएका छन्। शिविरमा सहभागी स्थानीयले घरआँगनमै स्वास्थ्य सेवा पाउँदा ठूलो सहुलियत भएको प्रतिक्रिया दिएका छन्। वडा सदस्य रसाइलीका अनुसार, “नजिकै निःशुल्क स्वास्थ्य सेवा पाउँदा आर्थिक भार कम हुनुका साथै समयको बचत पनि भएको छ।”
शिविर हेटौँडा अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको समन्वयमा सम्पन्न गरिएको हो। कार्यक्रम वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेको सभाध्यक्षतामा भएको थियो। आर्थिक रूपमा कमजोर तथा व्यस्तताका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको वडाध्यक्ष न्यौपानेको भनाइ रहेको थियो ।






