भीम विरागद्वारा ६ जना पुरस्कृत

हेटौंडा/भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले शनिबार ६ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । शनिबार प्रतिष्ठानले ६ जना व्यक्तित्वलाई एउटै मञ्चमा प्रादेशिक पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले यस वर्षको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट साहित्यकार बासुदेव गुरागाईँलाई सम्मानित भएका छन् ।

ADVERTISEMENT

साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानको यस वर्षको तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरे साहित्यकार भावना सापकोटा सम्मानित भएकी छिन्। सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो । सरकारी शिक्षक पेशामा आवद्ध रही साहित्य सिर्जनामा क्रियाशील सापकोटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत हुन् ।

यस्तै भीम–मथुरा बाल प्रतिभा पुरस्कार २०७९ बाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदी पुरस्कृत भएकी छिन । बालसाहित्यमा सक्रिय सुवेदीलाई प्रदान गरिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ रहेको छ । पुरस्कार समर्पण कार्यक्रममा सुविज्ञा अनुपस्थित भएपछि उनका बुबा विनोद सुवेदीले पुरस्कार ग्रहण गरेका थिए । यसैगरी विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार २०७९ मकवानपुरका लोक गायक रविन्द्रकुमार चेपाङलाई प्रदान गरिएको छ । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो ।

यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०७९ बाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिएको छ । बैद्यलाई १० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गरिएको हो । बैद्य स्वास्थ्य सेवामा स्थायी कर्मचारीको रुपमा कार्यरत रही सेवा निवृत कर्मचारी तथा हेटौंडाकी सफल स्वास्थ्य ब्यबसायी समेत हुन् । यस्तै अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा कार्यरत दृष्टिविहिन शिक्षक विदुर अधिकारीलाई प्रदान गरिएको छ । दृष्टिविहिन विद्यार्थीलाई नै पढाउँदै आएका अधिकारीलाई १० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गरिएको हो ।

स्थापनाकालदेखि नै साहित्य, संगीत, सँस्कृति र कलाका क्षेत्रमा १२ वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको प्रतिष्ठानले दोस्रो चरणको ६ वटा पुरस्कार आगामी माघ महिनामा प्रदान गर्ने बताइएको छ । प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यको अध्यक्षतामा भएको प्रादेशिक पुरस्कार समर्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुल्सी थापा रहेका थिए । प्रतिष्ठानका सल्लाहकार मुक्तिगोविन्द वैद्य, मकवानपुरका विभिन्न साहित्य क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *