हेटौँडा, हेटौँडाको हुप्राचौरमा जारी पालिकास्तरीय महिला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान तथा मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा जारी अन्तरपालिका महिला भलिबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
जारी प्रतियोगिताको क्वाटर फाइनल खेलमा जीत निकाल्दै हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी र बकैया गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । सोमबार भएको खेलमा हेटौंडाले बागमती गाउँपालिकालाई २५–१० र २५–१५ को सोझो सेटमा पाखा लगायो । यस्तै बकैयाले ईन्द्रसरोवर गाउँपालिकालाई २५–१६ र २५–१९ को सोझो सेटले हराउँदा थाहाले मकवानपुरगढीलाई २५–१४ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै भीमफेदीले मकवानपुरगढीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि हेटौंडाले भीमफेदीसँग र थाहा नगरपालिकाले बकैया गाउँपालिकासँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ८० हजार र सेमिफाइनल खेल्ने दुई टिमले समान ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।







