हेटौँडा, गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको खुला महिला तथा पुरुष दौड प्रतियोगिता बुधबार हेटौँडामा सम्पन्न भएको छ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको पाँच किलोमिटर दौड बुद्ध चोकबाट सुरु भई कान्ति लोकपथ, भैरवरोड, लक्ष्मी स्कुल, सूर्य चोक, थाहा चोक हुँदै पुन: बुद्ध चोकमा समापन गरिएको थियो। प्रतियोगितामा महिलातर्फ सिर्जना सिंतान पहिलो स्थानमा रहन सफल भइन्, जबकि शुष्मा दर्लामी दोस्रो र कृषिका क्षेत्री तेस्रो स्थानमा रहिन्। पुरुषतर्फ मिङमर सिंगी तामाङले पहिलो स्थान हात पार्दा, राजकुमार गोले दोस्रो र विजन सुनार तेस्रो भए।
दुबै समूहमा शीर्ष तीन स्थान प्राप्त गर्ने विजेताले क्रमशः १५ हजार, १० हजार, र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
स्थानीय खेलाडीको उत्साहजनक सहभागिता र दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजकहरूले बताए।






