हेटौँडा, आजबाट जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र मकवानपुरको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । यसैगरी आज भएको स्लो मोटरसाइकल रेस प्रतियोगितामा हेटौंडा–५ निवासी विक्रम उलक प्रथम, हेटौंडा–५ कै मित्र प्रसाद गौतम द्वितीय र हेटौंडा(२ का विवेक बानियाँ तृतिय स्थान हासिल गर्न सफल भएका छन् । हेटौंडा–४ शितल महल चोकदेखि हुप्राचौर गेटसम्म भएको प्रतियोगितामा २५ जनाले सहभागिता जनाएको सप्ताहका मूल कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रतियोगितामा सहभागीहरुलाई प्रहरी उपरीक्षक बोहराबाट प्रमाणपत्र एवम् प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो ।
जेसीआई हेटौँडा वर्ष सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईको प्रमुख आतिथ्य रहेको थियो । उक्त रक्तदान कार्यक्रमको संयोजक विनोद वाग्लेले गरेका थिए । यसैगरी अशोक सिंहको संयोजकत्वमा भएको खुल्ला स्लो मोटरसाइकल रेस प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीआई हेटौंडा सन् २०२० का शाखा अध्यक्ष राजदेव बानिया, २००८ का शाखा अध्यक्ष तथा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहकार एवम् बोर्ड अफ ट्रष्टीका अध्यक्ष कुश रिजालको आतिथ्यतासँगै जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपालेले गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कात्तिक १९ गते बिहान ७ बजे अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता तथा दिउँसो २ बजे भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम हुने आयोजकले जनाएको छ ।






