हेटौँडा, यस वर्षको एसइइ परीक्षामा मकवानपुर जिल्लाबाट ५ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । ४ जिपिए प्राप्त गर्नेमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका अनुषा उप्रेती र बिमर्श श्रेष्ठ, बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयकी अनुप्रस्था देवकोटा,सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयका सचिन कुमार यादव र बालज्योति माध्यमिक विद्यालयकी अस्मिता घिमिरे रहेका छन् ।
शिक्षा तथा समन्वय इकाइ कार्यालय मकवानपुरका ४६ दशमलव ८६ प्रतिशत विद्यार्थी उच्च शिक्षा अध्ययनको लागि योग्य भएका छन् । जिल्लाबाट ५ हजार ८८७ जना विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएकोमा २ हजार ७५९ जना मात्रै ग्रेडेड भएका हुन् । ३ हजार १ सय २८ जना विद्यार्थी ननग्रेडेड लिस्टमा छन् । मकवानपुरबाट यस वर्ष ५ जनाले ४ जिपिए प्राप्त गरेका छन् । जिल्लामा २०८१ को एसईई परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ३ सय ७८ जना छन् ।
३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८ सय २ जना रहेकोमा २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ९ सय ८१ जना रहेको जिल्ला शिक्षा समन्वय ईकाई मकवानपुरले जनाएको छ । २.४ जीपीएदेखि २.८ जीपीए ल्याउनेको संख्या ५ सय ३९ रहेकोमा २.० जीपीएदेखि २.४ जीपीए ल्याउने ५४ जना छन् ।







