बागमती प्रदेशको बजेटप्रति सांसद्हरूको आक्रोश

हेटौँडा, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको बजेटप्रति प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसद्हरूले बजेट असन्तुलित, टुक्रे आयोजना केन्द्रित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै सरकारको आलोचना गरेका हुन् ।

ADVERTISEMENT

बजेट माथिको छलफलका क्रममा प्रदेशसभाका १५ जना सांसदले भाग लिएका थिए । उनीहरुले बागमती सरकारको बजेटप्रति व्यापक असहमति जनाएका थिए । मुख्यमन्त्री र अर्थमन्त्री तथा पहुँचका आधारमा आफ्नै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोप सत्तापक्षका सांसद्हरूबाटै उठेका छन् । यो प्रवृत्तिले समग्र प्रदेशको सन्तुलित विकासलाई असर पुर्‍याउने चेतावनी उनीहरुले दिएका छन् । सत्ता र प्रतिपक्ष दुवैका सांसद्हरूले बजेटको संरचना, कार्यान्वयन सम्भाव्यता र प्राथमिकतामाथि प्रश्न उठाउँदै सरकारलाई पुनः विचार गर्न आग्रह गरेका छन् । विकासको नाममा रकम वितरण केन्द्रमा परिणत भएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखेका थिए ।

सत्तारुढ नेपाली कांग्रेसका आफ्नै सांसद्हर ले समेत सरकारको बजेटप्रति असन्तोष जनाएका छन् । कांग्रेसका सांसद प्रभात तामाङले बजेटको शैलीप्रति व्यङ्ग्य गर्दै प्रदेश सरकारको नाम ‘रकम वितरण केन्द्र’ राख्न सुझाव दिए ।
‘यस्तो किसिमको बजेट बनाउने हो भने यो प्रदेश सरकार होइन, रकम वितरण केन्द्र नामकरण गरौँ । बागमती सरकारको बजेट गन्तव्यहीन रहेको र सरकारलाई जिम्मेवार बन्न सकेन,’ उनले भने ।

यस्तै कांग्रेस सांसद रमेश कुमार महतले चालु आर्थिक वर्षको अन्त्यमा १३ अर्ब रुपैयाँ राजस्व उठाउने चुनौती रहेको बताए । उक्त अवस्था सम्भव नभए बजेट कार्यान्वयनमा संकट पर्ने उनले बताए । सरकारले प्रभावकारी, दीर्घकालीन र गेम चेन्जिङ गौरवको कार्यक्रमहरू समेट्न नसकेको बताए ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालले बजेटमा दीर्घकालीन सोचको अभाव रहेको बताए । उनले सरकार बजेट बाँड्नेमा त सक्रिय देखिए पनि स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिमा उदासीन रहेको टिप्पणी गरे ।
उनले बहु वर्षे आयोजनाहरूलाई आवश्यक बजेट नदिएकोप्रति आपत्ति जनाए । सरकारको बजेट पुनः लेखन गर्न उनले माग गरेका छन् ।नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले बजेटलाई प्रदेश सरकारको कार्यशैली, सोच र क्षमताको दर्पणको संज्ञा दिएका छन् ।

Advertisement 5

उनले बजेटमा पार्टीगत स्वार्थ र पहुँचको भरमा गरिएको विनियोजनले सरकारको चरित्र उजागर गरेको टिप्पणी गरे । प्रदेश सरकारको बजेट हालसम्मकै कमजोर, असन्तुलित र भेदभावयुक्त रहेको उनको भनाई छ ।
नेता गोसाईंले जनताको भावना अनुसार बजेट निर्माण हुनुपर्नेमा सरकारले इच्छा पूर्तिमा केन्द्रित अहंकारमूलक दस्ताबेज तयार गरेको आरोप लगाए ।
बजेट उत्पादनमुखी भएको अर्थमन्त्री काफ्लेको दाबी
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको बजेटलाई सन्तुलित, उत्पादनमुखी र रोजगारी सिर्जनामूलक भएको दाबी गरेका छन् ।
शुक्रबार प्रदेशसभा बैठकमा सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री काफ्लेले बजेट आर्थिक अनुशासनमा आधारित रही उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रित रहेको बताए ।

अर्थमन्त्री काफ्लेले बजेट निर्माण गर्दा नीति तथा कार्यक्रमलाई आधार बनाइएको स्पष्ट पार्दै बहुवर्षीय योजनामा पर्याप्त बजेट विनियोजन गरिएको उल्लेख गरे । उनका अनुसार, कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, उद्योग, सूचना प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सन्तुलित रूपमा बजेट विनियोजन गरिएको छ ।

‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमदेखि लिएर सूचना प्रविधिमा आधारित विषादी परीक्षण प्रयोगशाला, आधुनिक वधशाला, प्राङ्गारिक मल कारखाना, दूधजन्य उत्पादनको बजारीकरण तथा प्रोत्साहन अनुदान कार्यक्रमहरू बजेटमा समावेश गरिएको उनले बताए । अर्थमन्त्री काफ्लेले बागमती प्रदेशलाई पर्यटन हबको रूपमा विकास गर्ने दीर्घकालीन सोच अनुरूप बजेट तयार पारिएको दाबी गरे ।

युवालाई स्वदेशमै रोजगारी दिनका लागि स्टार्टअप तथा स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनको भनाई छ । उनले औद्योगिक ग्राम र सांस्कृतिक ग्रामको स्थापना तथा स्वदेशी काठ प्रयोग र वन स्रोतको दिगो उपयोगमार्फत आय आर्जन गर्ने योजना अघि सारिएको बताए ।

अर्थमन्त्री काफ्लेले प्रदेश सरकारको संरचनात्मक सुधारतर्फ समेत ध्यान दिइएर दोहोरो कार्यक्षेत्र भएका तथा औचित्य पुष्टि गर्न नसकिने प्रदेश संरचनाहरूलाई गाभ्ने वा खारेज गर्ने व्यवस्था बजेटमा समावेश गरेको बताए । (स्रोतः रातोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *