थाहा नगरपालिका: घरमा डाँका, मोबाइल र नगदसहित तीन पक्राउ

हेटौंडा, मकवानपुरको थाहा नगरपालिका–४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका परेको छ। असार २२ गते दिउँसो करिब २ बजे देखि ३ बजेको बीचमा घरमा कोही नभएको मौका छोप्दै मुलढोकाको ताला फोडेर नगदसहित विभिन्न सामग्री चोरी भएको हो।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय पालुङका अनुसार उक्त घटनामा संलग्न भएको आशंकामा तीन जनालाई सोही दिन पक्राउ गरिएको छ। स्थानीयवासी र छिमेकीहरूबाट प्राप्त सूचना तथा अनुसन्धानका आधारमा संदेह गरिएका तीनै जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सर्लाहीको हरिवन नगरपालिका–९ का ३० वर्षीय सञ्जिव परियार, थाहा नगरपालिका–२ देउलाटोलका करिब ३५ वर्षीय कान्छा उर्फ प्रदीप पोडे, र ललितपुरको गोदावरी नगरपालिका–१३ झरासीका करिब ३० वर्षीय बिमल नेपाली (उर्फ चमार) रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नगद रु. ६८,९३१, विभिन्न कम्पनीका पाँच थान मोबाइल, एक थान एनसेल सिमकार्ड, सुनजस्तो देखिने पहेँलो धातुको औंठी, खुकुरी, कटर चक्कु, एअरपोर्ट (पाना काट्ने उपकरण), घडी, मूर्ति, बिडलगायतका सामग्री बरामद गरेको जनाएको छ।

पीडित बलराम के.सी. र बासुदेव के.सी.ले इलाका प्रहरी कार्यालय पालुङमा छुट्टाछुट्टै जाहेरी दिएका थिए। सोही आधारमा डाँका तथा चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ।

Advertisement 5

पक्राउ परेका तीनै जनामाथि मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्यालले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *