हेटौंडा/मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदमा निर्वाचित मकवानपुरका सांसद सपथ नखाँदै फिल्डमा उत्रेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका महेश बर्तौला विजयी भएको प्रमाणपत्र लिएर सिधै रासायनिक मलको अवस्था बुझ्न हेटौंडास्थित औद्योगिक क्षेत्र पुगेका थिए । आफू औपचारिक रूपमा माननीय भएको जानकारी गराउँदै उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले मलको समस्या भोगिरहेको सुनाए ।
‘४ हजार तिर्दा पनि मल पाइएन, पहल गरिदिनुप¥यो, बोलिदिनुप¥यो भन्ने जनताको आग्रह छ’ बधाई र स्वागतको जवाफमा उनले भने । साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख मोहन बरालले बाह्य मुलुकबाट मल आएपछि केन्द्रीय त्यसपछि स्थानीय तह (सरकार)लाई जानकारी गराउँछ । प्रत्येक पालिकामा उपप्रमुखको अध्यक्षतामा स्थायी प्रकृतिको मल व्यवस्थापन समिति हुन्छ । त्यही समितिले पालिकाभित्र मल डिलरमार्फत प्रमुख बरालले मल वितरणका सन्दर्भमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कार्यकारी भूमिका खेल्ने र दीर्घकालीन रूपमा समस्या समाधानका लागि संघीय संसदले नीतिगत रूपमा पहल गर्नुपर्ने सुझाएर नवनिर्वाचित बर्तौलालाई फर्काइदिए ।

बर्तौलाले पनि किसानको मुख्य चासो रासायनिक मल भएकाले आफूले गोदामको अनुगमन गरेर जनप्रतिनिधिको काम सुरु गरेको सुनाए । उनले यहाँका किसानले मलको समस्या भोग्नु परिरहेकोले समाधान गर्नका लागि पहलकदमी गर्ने प्रतिबद्धता जनाए । यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राप्रपाका दीपक सिंह हेटौंडा अस्पतालको अनुगमन गर्न पुगेका छन् । अनुगमनका क्रममा उनले हेटौंडा अस्पतालको स्तरोन्नति नै आफ्नो पहिलो एजेन्डा रहेकाले कार्यकालभर निरन्तर अस्पतालको विकासमा लाग्ने प्रतिबद्धता जनाए ।
मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले नवनिर्वाचित सांसदहरुलाई सोमबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र सहायक निर्वाचन अधिकृत मुकुन्दाहरी पौडेलले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।






