हेटौँडा, मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारहरूलाई काजकिरियाका लागि प्रदान गर्दै आएको आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती र वडा नं. ८ का वडाध्यक्ष नारायण उप्रेतीको उपस्थितिमा साउन ६ गते मनहरी–८ का चार परिवारलाई जनही २० हजार रुपैयाँ नगद र श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरिएको हो।
केही दिनअघि निधन भएका कृष्णबहादुर प्रजाको परिवारलाई गाउँपालिकाको टोलीले घरमै पुगेर मृत्यु दर्ता गराई काजकिरियाबापतको आर्थिक सहयोग प्रदान गरेको हो। त्यस्तै, स्व. लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकका परिवारहरूलाई समेत जनप्रतिनिधिहरूले घरमै पुगेर श्रद्धाञ्जलीपत्र र नगद सहयोग हस्तान्तरण गरेका थिए।
आर्थिक अभावले काजकिरिया रोकिने अवस्थाबाट जोगाउन गाउँपालिकाले गत आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको हो। मृतकको परिवारबाट वडाको सिफारिससहित मृत्यु दर्ता गराएपछि पालिकाले प्रतिपरिवार २० हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको छ।
गएको आर्थिक वर्षमै गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको यो योजनाअनुसार प्रतिनिधिमण्डल मृतकको घरमै पुग्ने, मृत्यु दर्ता प्रक्रिया मिलाउने र काजकिरियाबापत सहयोग प्रदान गर्ने गरिएको अध्यक्ष कालाखेतीले जानकारी दिए। उनका अनुसार, गत वर्ष मात्र झन्डै १८० वटा परिवारले यस कार्यक्रमअन्तर्गत सहयोग प्राप्त गरेका थिए।
‘हामीले कार्यपालिकाबाट निर्णय गरेर यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, काजकिरियाजस्तो महत्वपूर्ण संस्कार आर्थिक अभावका कारण रोकिन नपरोस् भन्ने उद्देश्यले गत वर्षदेखि सुरु गरेका यो कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ,’ अध्यक्ष कालाखेतीले बताए।







