हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सत्तारुढ नेपाली कांग्रेस र एमाले गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने प्रस्तावसहित संसद् बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई जानकारी गराएका छन्।
संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम, मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार बानियाँले मत लिने तयारी गरेका हुन्। साउन २० मा मुख्यमन्त्री नियुक्त भएका उनले भदौ १८ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।
सभामुख भुवनकुमार पाठकले मितिका सन्दर्भमा छलफल भइसकेको र औपचारिक पत्र प्राप्त भएपछि बैठकको समय निर्धारण गरिने जानकारी दिएका छन्।
कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ साउन २० मा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।







