हेटौँडा, मकवानपुरको बागमती गाउँपालिकाले फुटबल खेललाई प्राथमिकतामा राख्दै ‘बागमती फुटबल एकेडेमी’ सञ्चालनमा आएको छ ।
एकेडेमीलाई लक्षित गरी आइतबारदेखि पालिकाको वडा नं. ४ स्थित सहिद स्मृति रंगशालामा खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । पहिलो दिन वडा नं. ४ र ५ का खेलाडी छनोट गरिएको छ भने बाँकी वडामा भदौ ८ गतेसम्म चरणबद्ध रूपमा छनोट कार्य जारी रहने गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।
उहाँका अनुसार नौ वटै वडाबाट छनोटमा परेका खेलाडीलाई अन्तिम छनोटपछि एकेडेमीमा राखी व्यावसायिक प्रशिक्षण दिइनेछ । गाउँपालिकाले खेलाडीको क्षमता र लगावलाई प्राथमिकतामा राखेर छनोट गर्ने बताएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामाले स्थानीय तह, सरकार र एन्फाबीचको सहकार्यबाट एकेडेमी सञ्चालन सम्भव भएको भन्दै एन्फाले आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो ।
मुख्य प्रशिक्षक मेघराज केसीको नेतृत्वमा टोलीले छनोट प्रक्रिया सुरु गरेको हो । राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आएको बागमती गाउँपालिकाले अब व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी सञ्चालन थालेको हो ।
छनोटमा परेका खेलाडीलाई गाउँपालिका–८ स्थित एकेडेमी भवनमा राख्ने व्यवस्था मिलाइएको छ । पुरुष र महिला खेलाडीका लागि छुट्टाछुट्टै आवासीय सुविधा एकेडेमीमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।